×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौंका ३६ ठाउँमा अब यात्रु आफैंले ट्राफिक लाइट बालेर सडक ‘क्रस’ गर्न सक्ने

काठमाडौंका ३६ ठाउँमा अब यात्रु आफैंले ट्राफिक लाइट बालेर सडक ‘क्रस’ गर्न सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३६ ठाउँमा अब पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बालेर सडक क्रस गर्न सकिने भएको छ ।

पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ स्थानमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।

महानगरले बुधबारदेखि बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा उक्त प्रविधि जडान गरेको हो । योसँगै यस्तो प्रविधिबाट महानगरका ३६ स्थानमा ट्राफिक बत्ती बालेर सडक क्रस गर्ने सुविधा रहेको उनले बताए ।

उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए ।

उनकाअनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँमा समेत यो प्रविधि जडान गरिने उनले बताए ।

‘यसलाई बटन क्रसिङ भन्छ । जबसम्म यसमा रहेको बटनलाई ‘पुस’ गरिँदैन यसले काम गर्दैन । पुस गरिसकेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले जथाभावी क्रस गर्ने भएको कारण सुरक्षित छैन । अहिले हामीले ३६ ठाउँमा यो राखेका छौं । यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडि रोकिन्छ । र ढुक्कका साथ बाटो काट्नसक्छ । यात्रुको सुरक्षालाई मध्यनजगर गरेर काठमाडौं महानगरपालिकाले यो कामहरु गर्न थालेको हो,’ उनले भने ।

सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुसी भएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले उक्त प्रविधिले सडक दुर्घटना कम हुने विश्वास व्यक्त गरिन् ।

पद्मकन्या बहुमुखी क्याम्पसको जनसंख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर उक्त प्रविधि सञ्जालनमा आएको बताइन् ।

काठमाडौं महानगरपालकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्