×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रको ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ स्थगित

माओवादी केन्द्रको  ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय भएको एक नेताले बताए । 

राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने निर्णय भएको ती नेताको भनाइ छ । अभियान अन्तरगत शनिबार रौतहटमा कार्यक्रम भएको छ । जहाँ अध्यक्ष प्रचण्डसहितका नेताहरू रहेका छन् । 

तर, यसपछिका अभियानलाई भने केही समय स्थगित गरेर संसदीय मोर्चामा सक्रिय रहँदै प्रतिगामी शक्तिहरूको गतिविधिलाई चिर्ने गरी पार्टी लाग्ने माओवादीको भनाइ छ ।

यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो ।  यस्तै नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी ९नवलपरासी पश्चिम०मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो । 

यस्तै कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।  यी सबै कार्यक्रम अब कहिलेदेखि सुरु गरेर कहिले सक्ने भन्नेबारे केन्द्रीय कार्यालयले छिट्टै मिति तय गर्ने ती नेताको भनाइ छ । 

अभियान भने माओवादीले फागुन १२ गते झापाबाट सुरु गरेको थियो ।  अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् ।  

पछिल्लो समय राजावादीहरूले आफ्नो गतिविधि बढाउँदै लगेका छन् । आइतबारका लागि राजावादीहरूले पोखराबाट काठमाडौँ फर्किँदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्ने तयारी गरेका छन् ।
 

प्रतिकृया दिनुहोस्