काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा प्रहरीसँगको झडपमा घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई जना र झडपकै क्रममा लडेर घाइते भएका एक जनालाई काठमाडौं लिन लागिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घाइतेहरू यामबहादुर लिम्बु, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौं लैजान लागिएको हो ।
शनिबार बेलुका पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा र भागदौडका क्रममा केही व्यक्ति घाइते भएका थिए । तीमध्ये तीन जना गम्भीर घाइते भएका छन् ।
घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो ।
अस्पतालले थप उपचारका लागि रेफर गरेपछि काठमाडौं लैजाने तयारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
केबलकारका कारण पहिचान मेटिने आन्दोलन सुरु गरेको ‘नो केबलकार समूह’ आज आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थियो ।
आन्दोलनकारीलाई तितरवितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।