×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कर्णाली प्रदेशमा हिमपात र वर्षा

कर्णाली प्रदेशमा हिमपात र वर्षा

काठमाडौं । कर्णाली प्रदेशमा हिमपात र वर्षा भएको छ । शुक्रबार बिहानैदेखि कर्णालीका सबैजसो जिल्लामा वर्षा भइरहेको छ भने हिमाली जिल्लामा हिमपात भइरहेको छ ।

हिमपात र वर्षा शनिबार पनि निरन्तर छ । हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित छन् । यो वर्ष लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न थालेको थियो ।

हिउँदे बाली सुक्न थालेसँगै कृषकहरू उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँग वर्षातले राहत दिएको कृषकहरू बताउँछन् । ‘पानी नपर्दा लगाएको गहुँ लगायतका अन्नबाली सुक्नै लागेका थिए, पानी आउँदा थोरै भएपनि राहत भयो,’हुम्लाका रत्नप्रसाद जैसी भन्छन्, ‘खासमा हिमालतिर अलि अगाडि नै हिमपात हुनुपर्ने हो तर, भएन ।’ 

यसअघि पुस र माघमै हिमपात र वर्षा हुने गरेको थियो । यो पटक भने ढिलो गरी वर्षा भयो । पश्चिम दैलेखको ठाटीकाँधका नामबहादुर शाही भन्छन्, ‘लगाएको गहुँ, जौ सुक्न थालिसकेका थिए, ढिलै भएपनि पानीले राहत दियो ।’

विशेषगरी जुम्ला, हुम्ला, मुगु, डोल्पामा भने हिउँले ढपक्कै ढाकेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।

प्रतिकृया दिनुहोस्