×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

संस्कृति/संस्कार

नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं । बडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ। अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ।

यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि छ। त्यसपछि षष्ठी लाग्छ।

स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ। 

गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ। 

नवरात्रमा प्रत्येक दिन एक-एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्। 

पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो। मार्कण्डेय पुराणअन्तर्गत देवीमाहात्म्य अनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन्। 

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दशैंघरमा नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक–एक देवीको उपासना गर्ने परम्परा छ।

नवरात्रमा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गर्ने परम्परा छ।

प्रतिकृया दिनुहोस्