×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

खाली कागजमा सांसदको हस्ताक्षर संकलन गरिएको छ, आवश्यकता अनुसार प्रयोग हुन्छ : भट्टराई

खाली कागजमा सांसदको हस्ताक्षर संकलन गरिएको छ, आवश्यकता अनुसार प्रयोग हुन्छ : भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सांसदहरूको हस्ताक्षर खाली कागजमा संकलन गरेको स्वीकार गरेका छन्। उनले यो संसदीय राजनीतिमा पुरानै चलन भएको बताउँदै आवश्यकताअनुसार उक्त हस्ताक्षर प्रयोग गरिने बताए । 

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भट्टराईले यो अभ्यास २०४८ सालदेखि नै चल्दै आएको र संसदीय व्यवस्था भएका अन्य देशहरूमा पनि सामान्य भएको दाबी गरे। यो कुनै ठूलो कुरा होइन। यो अहिलेदेखि हैन, पहिले ४८ सालदेखि नै चलेको चलन हो, उनले भने, हाम्रो जस्तो संसदीय अभ्यास भएका मुलुकहरुमा जहाँ पनि चल्छ।

पार्टीले आफ्ना सांसदहरूको हस्ताक्षर आकस्मिक राजनीतिक परिस्थितिका लागि पहिले नै लिएर राख्ने गरेको उनले बताए। कुनै बेला अपर्झट प्रस्तावहरु दर्ता गर्नुपर्ने हुन्छ। त्यतिबेला माननीयहरु कोही विदेश गएका हुन्छन्, कोही काठमाडौं बाहिर हुन्छन्। त्यस्तो बेलामा प्रयोग गर्न पूर्वतयारीका लागि हस्ताक्षर लिएर राखिन्छ, भट्टराईले भने।

पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र एमालेले एकैपटक हस्ताक्षर संकलन अभियान चलाएको र उपसभामुख हटाउन लागेको चर्चाबारे सोधिएको प्रश्नमा भट्टराईले यसलाई संयोग मात्र भएको बताए। कांग्रेस र हाम्रो सल्लाहले हस्ताक्षर गरेको होइन, एकै दिन परेको संयोग मात्र हो, उनले भने।

आजै सिंहदरबारमा एमालेका सांसदहरुले संसदीय दलको कार्यालयमा पुगेर खाली कागजमा हस्ताक्षर गरेका थिए । 

प्रतिकृया दिनुहोस्