काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमर शल्यक्रिया भएको छ । दिमागको बीच भागमा रहने पिट्युटरी ग्रन्थीमा पलाएको मासुको डल्लो दूरबिन विधिबाट शल्यक्रिया गर्नु जटिल मानिन्छ ।
यो जटिल खालको शल्यक्रिया भेरी अस्पतालका न्यूरोसर्जन विशेषज्ञ डा। सुवोध गौतम र नाक, कान, घाँटी (ईएनटी) सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वमा भएको हो । उनीहरुले बर्दियाको गुलरिया नगरपालिका–१२ निवासी ५० वर्षीया सुप्नी थारुको भदौ १६ गते सफल शल्यक्रिया गरेका हुन् । सुप्नीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएकाले डिस्चार्ज गर्ने तयारी छ ।
डा. गौतमका अनुसार पिट्युटरी ग्रन्थी मान्छेको दिमागको बीच भागमा हुन्छ । यसले शरीरमा भएका अन्य सबै ग्रन्थीको कन्ट्रोल गर्छ । त्यसैले यसलाई मास्टर ग्रन्थी पनि भनिन्छ । उनी भन्छन्, ‘यसमा हुने गडबडीले मानिसमा थाइरोइडको समस्या देखिने, दृष्टि कमजोर हुने, महिनाबारी गडबडी हुने, स्तनबाट दूध चुहिने, बाँझोपन हुने, शरीरमा अत्यधिक रौंहरु पलाउने, अस्वाभाविक मोटाउने जस्ता समस्या देखिन्छ ।’
डा गौतमका अनुसार पिट्युटरी ग्रन्थीतिर आँखाको नसा हुने भएकाले त्यहाँ ट्युमर बढ्ने क्रममा टाउको दुख्ने र दृष्टि कमजोर हुँदै गएर आँखै नदेख्ने समस्या हुन्छ ।
भेरी अस्पतालमा पिट्युटरी ग्रन्थीको ट्युमरको अप्रेसन गरिएकी सुप्नी थारुको आँखामा समस्या नहुँदा पनि उनले राम्रोसँग आँखा देख्दिनथिन् ।