×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मुठीभरको स्वार्थमा राज्य डुब्यो. राजनीतिज्ञहरू डुबे : विप्लव

मुठीभरको स्वार्थमा राज्य डुब्यो. राजनीतिज्ञहरू डुबे : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी गरेका छन् ।

आइतबार राजधानीमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । नेकपाले कृषिमा आत्मनिर्भर हुन गरेको मिहेनतले यो अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

‘नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या छैन । नेता र कार्यकर्ता कम्तीमा मागेर खानुपर्ने ठाउँमा छैनौं,’ उनले भने, ‘तीन वर्षमा पार्टीलाई खानका लागि चन्दा माग्नु नपर्ने ठाउँबाट मुक्त गर्ने अठोट हो । हामीले खानका लागि कसैसँग गुहार्न पर्ने ठाउँमा छैनौं ।’

उनले भोलि (सोमबार) राजधानीकै बुढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागिएको पनि जानकारी गराए । ‘भोलि नै हामी बुढानीलकण्ठमा सी व्यापार केन्द्र पनि खोल्दैछौं,’ उनले भने ।

उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने चाहना आफूहरूको रहेको जिकिर गरे ।

‘नेपालले विदेशबाट चामल बेसाएर खाने होइन, गरिब देशलाई सहयोग गर्ने हाम्रो चाहना छ । नेपालका हरेक व्यवसायीलाई विश्वस्त पार्न चाहन्छौं, प्रतिबन्ध पनि झेल्यौं,’ विप्लवले अघि भने, ‘त्यहाँबाट उठेर हामी आएका हौं । नेपाली जनताको मन छामेका छौं । नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी हाम्रा मित्र हुन् ।’

उनले शासकहरू मुठीभरको स्वार्थमा फस्दा देश र जनता कंगाल भएको बताएका छन् । ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकहरू जनतातिर नभई मुठीभरको स्वार्थमा फस्दा देश कंगाल भएको बताएका हुन् । 

‘शासकहरू जनतातिर फर्किएनन् । विदेश (मालिक) तिर फर्किँदा समस्या आयो । मुठीभरको स्वार्थमा राज्य डुब्यो । राजनीतिज्ञहरू डुबे’, उनले भने, ‘गणतन्त्र आएको १८ वर्ष लामो समय गोलचक्करमा राज्य फसेको छ । तर जनतामा फर्किन सकेको छैन । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन । त्यसैले आजको थुप्रै समस्याहरू हामीले खेप्नुपरेको छ । यसमा हाम्रो पार्टी निकै सचेत छ ।’

नेकपाले सम्पूर्ण मित्रशक्ति कम्युनिस्ट, समाजवादी, गणतन्त्रवादी, देशभक्तहरूलाई एक ठाउँमा ल्याएर देश र गणतन्त्रलाई जनताको राज्यमा बदल्ने चाहना रहेको विप्लवले दाबी गरे । 

देशमै बसेर जनतालाई उच्च शिर बनाएर आफ्नै विवेक, बल र तागतमा राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने एउटा सन्देश दिनखोजेको उनको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस्