हिजोआज नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी निरन्तर श्रममा व्यस्त हुनुहुन्छ। वैशाखको चर्को घाममा पनि उहाँ चुरे पहाडको फेदीमा बाँझो जमिनलाई खनजोत गरी अकबरे खुर्सानी लगाउने कार्यमा तल्लीन देखिनुहुन्छ।
आजभोलि धेरै युवाहरू आफ्नो खेतबारी बाँझो राखेर विदेश पलायन भइरहेको अवस्थामा, महासचिव विप्लव भने बाँझो जमिनलाई उर्वर बनाउन अथक प्रयास गरिरहनुभएको छ। उहाँ हरेक बिहान पाँच बजे उठेर सिधै खेतमा पुग्नुहुन्छ र दिउँसो करिब १२ बजेसम्म श्रम गर्नुहुन्छ। खाना र आरामपछि पुनः दिउँसो ३ बजेदेखि उहाँ श्रममा जुट्नुहुन्छ।
महासचिव विप्लव आफैंले हलो जोत्ने, आली लगाउने, झार उखेल्ने, ट्र्याक्टर चलाउने, कुटो कोदालो गर्ने र ढुङ्गा फोड्ने जस्ता कार्यमा सक्रिय सहभागिता जनाउनुहुन्छ। उहाँ राजनीतिक कार्यसँगै आर्थिक उत्पादनलाई पनि अगाडि बढाएर मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुपर्ने कुरामा जोड दिनुहुन्छ।
केही समयअघि एक कार्यक्रममा उहाँले भनेका कुरा, हामी गोरु झैँ जोतिन तयार छौँ, आज व्यवहारिक रूपमै पुष्टि भएको छ। हाम्रो मुलुक अहिले आर्थिक अभावले संकटग्रस्त छ र दैनिक हजारौं युवाहरू विदेश पलायन भइरहेका छन्। यस्तो विषम परिस्थितिमा नेकपा महासचिव विप्लवले कृषि क्रान्ति मार्फत देशलाई आत्मनिर्भर बनाउने उदाहरणीय कार्य थाल्नुभएको छ।
उहाँको यो कर्मठताले युवाहरूलाई स्वदेशमै श्रम गरेर आत्मनिर्भर बन्न प्रेरणा मिल्ने देखिन्छ। महासचिव विप्लवको यो कार्य साँच्चै नै प्रशंसनीय छ र यसले देशलाई सकारात्मक दिशामा डोऱ्याउन मद्दत पुग्ने आशा गर्न सकिन्छ।