×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सामना सांस्कृतिक परिवारको घोराही र तुलसीपुरमा बृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

सामना सांस्कृतिक परिवारको घोराही र तुलसीपुरमा बृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दाङ । सामना सांस्कृतिक परिवारले दाङको घोराही र तुलसीपुरमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार घोराहीमा र शनिबार तुलसीपुरमा भएको कार्यक्रममा सामना परिवारले विभिन्न सांस्कृतिक एवम सांगीतिक प्रस्तुतिहरु, गीतसंगित, अपेरा, नृत्य लगाएतका प्रस्तुतिहरु प्रस्तुत गरेको हो ।

कार्यक्रममा नेकपाका पिबिएम एवम वरिष्ठ जनवादी कलाकार माइला लामाले देश, जनता, गणतन्त्र तथा समाजवादको पक्षको अभियान रहेको बताएका थिए ।

उनले कार्यक्रम सहजीकरण गर्दै भने– ‘अहिले जनतामा व्यापक निराशा बढेको छ । देश दिनप्रतिदिन बर्बाद हुँदै गएको कहिँकतै लुकेको छिपेको छैन । यो किन यस्तो भयो भन्ने आम छलफलको विषय बनेको छ । हाम्रो पार्टीको कुरा अहिले नेपालको राजनीतिक संकटको निकास समाजवादबाट हल गरौं भन्ने प्रस्ताव गरेका छौँ । यो सांगीतिक अभियान समाजवादको पक्षमा जनलहर सिर्जना गर्ने उद्देश्यमा आधारित छ । मुलुकमा अहिले चलेको प्रतिगामी, पश्चगामी षड्यन्त्रकारी हावाको विरुद्ध गणतन्त्रको पक्षको आवाज पनि हो । तर अहिलेको गणतन्त्रले पनि जनताको चाहना र आकांक्षाको नेतृत्व गर्न सक्दैन, यसको एकमात्र निकास नेपाली विशेषताको समाजवाद हो । हाम्रो चाहना नेपाली विशेषताको समाजवादका बारेमा व्यापक विमर्श होस् भन्ने अपेक्षा हो ।’

कलाकार माइला लामाले देश दुस्ख कष्टमा रहेका बेला जनवादी कलाकारहरु टुलुटुलु हेरेर बस्न नसकेपछि सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कनु परेको समेत बताए ।

यस्तै सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुतिसहित बोल्दै पूर्वमन्त्री एवम वरिष्ठ जनवादी गीतकार मणि थापाले जनयुद्धका सपना पूरा नभएको बताएका थिए ।

उनले भने– ‘हामीले प्रचण्ड(बाबुरामबाट न्याय पाएनौं, गणतन्त्रबाट न्याय पाएनौं । हामीले जे सोचेका थियौं त्यो पूरा भएन त्यसैले अहिले प्रतिगामीहरुले टाउको उठाएका हुन् । माओवादी, सच्चा कम्युनिस्ट एवम वामपन्थी शक्तिहरू एकजुट हुनुपर्छ । तर अब पुरानो नेतृत्वबाट यो देश बन्ने सम्भावना म देख्दिन । विप्लव जीको प्रयास सकारात्मक छ । अब मुलुक र पार्टी चलाउने नेतृत्व युवाहरुले गर्नुपर्ने आवश्यकता गहिरोगरी बोध गर्नुपर्ने बेला आएको छ । मुलुकको बर्बादीको निकासका लागि अब बृहत् ध्रुवीकरण चाहिएको छ ।’

गीतकार मणि थापाले अब मुलुकको राजनीति श्रम, संघर्ष र अनुसन्धानको स्कुलबाट हल गर्नुपर्ने बताए ।

कार्यक्रममा सामना परिवारका कलाकारहरुले गणतन्त्र, समाजवादको पक्षमा आफ्ना सांस्कृतिक एवम सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मणि थापाको बहुचर्चित गित ओ गणतन्त्र, जनयुद्धको झल्को दिने अपेरा, गणतन्त्रका गायक रमण धामी, कलाकार आरोह नेपाली, हेमन्त रुम्बा लगाएतले जनवादी गितसंगित, विभिन्न नृत्य, नाटकको प्रस्तुतिले कार्यक्रमको हल गुन्जायमान बनाएको थियो ।

सांस्कृतिक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सी ९विषम०, केन्द्रीय समितिका सदस्यहरु, केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु, विभिन्न राजनीतिक पार्टीका नेताकार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, प्राध्यापक, साहित्यकार, लेखक, उद्योगी, व्यापारी लगाएत आम जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित दर्शकहरुले सामनाको अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए । सामनाको शुक्रबारको कार्यक्रम घोराहीको मालाइन होटलमा सम्पन्न भएको थियो ।

यस्तै सामना परिवारले शनिबार तुलसीपुरको नगर विकास समितिको प्राङ्गणमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
घोराही र तुलसीपुरमा कार्यक्रम सकेर शनिबार राति नै थारु बस्ती दङ्गीसरण ४ मौलीमा सामना परिवारले रात्रीकालिन साङ्गीतिक प्रस्तुति देखाएको छ ।
स्थानीय थारु समुदायले सामना परिवारलाई भव्य स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्