काठमाडौ । सामना साँस्कृतिक परिवारद्वारा सञ्चालित समाजवादका लागि सामना साँस्कृतिक अभियानको समीक्षा सम्पन्न भएको छ। गत फागुन पहिलो हप्ता देखी झापाबाट सुरु भएर असार २ गते रास्ट्रीय नाचघर जमलमा सम्पन्न भएको साँस्कृतिक कार्यक्रमको समीक्षा नेकपा महासचिव विप्लवको विशेष उपस्थितिमा आज ललितपुरमा सम्पन्न भएको हो।
अभियानको क्रममा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म २३ ओटा औपचारिक साँस्कृतिक कार्यक्रम सम्पन्न भएका थिए भने किसान, मजदुर, मिटर ब्याज पीडित लगायत हजारौं नागरिकसङ्ग अनौपचारिक रूपमा भेटघाट, अन्तर्कृया र अन्तरसम्वाद गरिएको सामना कलाकारका संयोजक आरोहले जानकारी दिएका छन् ।
नेकपा महासचिव विप्लवको विशेष उपस्थितिमा भएको उक्त समीक्षामा पूर्वमन्त्री एवम् बरिस्ठ जनवादी स्रष्टा मणी थापा,बरिस्ठ स्रष्टा माइला लामा,नेकपा नेताहरु, बिपिन सी, कृष्णहरि र चिरञ्जीवी लगायतको सहभागिता रहेको थियो।
समीक्षा बैठकले अभियानले गीत, सङ्गीत, नाटक र अपेरा मार्फत सामन्ती र दलाल पुँजीवादी संस्कृतिको जनबिरोधी एवम् प्रतिगामी चरित्रको भण्डाफोर गर्दै जनपक्षीय एवम् प्रगतिशील संस्कृति निर्माणको दिशामा सशक्त भूमिका पुरा गरेको,कला र साँस्कृतिक कार्यक्रम मार्फत विद्यमान बिकृत राजनीतिविरुद्ध जागरण सिर्जना गरेको र माओवादी आन्दोलनका विभिन्न धाराहरु र समग्र कम्युनिस्ट आन्दोलनको ध्रुवीकरण, एकीकरण र रुपान्तरणका लागि प्रेरित गरेको निष्कर्ष निकालेको छ।
त्यस्तै अभियान बिशिस्ट अर्थ र महत्त्वको रहेको, त्यस क्रममा पूर्वमन्त्री मणी थापा देखि माओवादी घटकसम्बद्द विभिन्न कलाकारहरुको सहभागिता रहनु र साँस्कृतिक आन्दोलन मार्फत समाजवादका पक्षमा जनमत सिर्जना गर्न योगदान पुगेको निष्कर्ष समेत निकालेको छ।
गीत, सङ्गीत, नाटक, नृत्य लगायत विभिन्न विद्यासङ्ग सम्बन्धित २९ जना कलाकार सहभागी रहेको अभियान पछिको समीक्षा बैठकले असार महिनाभर श्रममा केन्द्रित हुने, साउनमा विधागत प्रशिक्षण सञ्चालन गर्ने र भदौबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय गर्दै अभियानको क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ।