×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सल्यान फोर्स गाडी दुर्घटना हुँदा १५ जना घाइते, अधिकांश घाइतेको अवस्था गम्भीर

सल्यान फोर्स गाडी दुर्घटना हुँदा १५ जना घाइते, अधिकांश घाइतेको अवस्था गम्भीर

काठमाडौँ । नेपालगन्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको फोर्स गाडी बिहीबार दिउँसो कुमाख गाउँपालिका–२, बढाई ज्युला भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । ‎जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार भे १ ख ३९९४ नम्बरको उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो ।

‎‎जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश खत्रीले दिएको जानकारीअनुसार दुर्घटना दिउँसो करिब १:०० बजे भएको हो । दुर्घटनाको खबर पाउनासाथ नजिकैको प्रहरी पोस्ट नेटाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर वलीको कमान्डमा ४ जनाको टोली र इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा ६ जनाको थप टोली तत्कालै घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो ।

‎‎दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । घाइते हुनेमा गाडी चालक सल्यान, कुमाख गाउँपालिका–६ बस्ने अन्दाजी २७– २८ वर्षीय पारस आचार्य रहेका छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर छ ।

‎‎यसैगरी, सोही ठेगानाका ३६ वर्षीय भूपेन्द्र बस्नेतको टाउको र खुट्टामा तथा ६३ वर्षीय टिकाराम आचार्यको टाउको र छातीमा गम्भीर चोट लागेको छ । कुमाख गाउँपालिका–१ का १६ वर्षीय इन्द्र रावत, वडा नम्बर ४ का ५६ वर्षीय डोले बस्नेत र ३५ वर्षीया निर्मला बुढाथोकीको पनि टाउकोमा गम्भीर चोट लागेको छ ।

‎दुर्घटनामा बालबालिका पनि गम्भीर घाइते भएका छन् । कुमाख–४ की १० वर्षीया जेनिशा रानाको टाउको र खुट्टामा तथा ७ वर्षीय महेन्द्र बस्नेतको टाउको र दुवै खुट्टामा गम्भीर चोट छ । यस्तै, कुमाख गाउँपालिकाकै ६२ वर्षीय कालीमान हमालको टाउकोमा, सुर्खेत भेरीगंगा नगरपालिका–९ की ३१ वर्षीया तुलसा सुनारको टाउको र दुवै खुट्टामा तथा रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ की ८४ वर्षीया चन्दी विष्टको टाउको र दुवै हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । यी सबै दश जना गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाइएको हो ।

‎‎साथै, मध्यम घाइते भएका कुमाख गाउँपालिका–२ की ३२ वर्षीया दिपा बुढाथोकी र उनकी ६ वर्षीया छोरी कोपिला बुढाथोकीको दुवै खुट्टामा चोट लागेको छ । रुकुम पश्चिम चौरजाहारीकी ३१ वर्षीया कुन्ता विष्टको पनि दुवै खुट्टामा चोट लागेको छ र उनीहरूलाई पनि नेपालगन्ज नै पठाइएको छ ।

‎‎सामान्य घाइते भएका सल्यान, कुमाख गाउँपालिका–४ का २३ वर्षीय भुवन लामिछानेको शरीरको विभिन्न भागमा चोट लागेको र उनको उपचार रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा भइरहेको छ । ‎प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्