काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो ।
बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म अत्यावश्यक कामको लागि खुल्ला भएको छ भने सडकमा सवारीको चाप देखिन थालेको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूको नियन्त्रणबाहिर रहेको सुरक्षा निकायमध्येको नेपाल प्रहरी सक्रिय बन्न थालेको छ ।
पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको नेपाली सेनाले जनाएको छ।
तीनै जिल्लामा शुक्रबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा लागू हुने भएको छ। बेलुका ७ देखि शनिवार बिहान ६ बजेसम्म कर्फ्यू रहने सूचनामा उल्लेख गरिएको छ ।
अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने समयसमेत सेनाले तोकेको छ। त्यसका लागि शुक्रबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म समय तोकिएको छ।