कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले कालिकोटको विकासका लागि बजेट माग्न सिंहदरबार धाउने नभई बजेट दिने क्षमता भएको नेता छान्न जनतालाई आग्रह गरेका छन्। आइतबार खाँडाचक्र नगरपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रकाण्डले विगतमा कालिकोटबाट जितेर जाने नेताहरू मन्त्री र प्रधानमन्त्री भेट्न महिनौँ कुर्नुपर्ने अवस्थामा रहेको टिप्पणी गरे। ‘बजेट माग्न लाइन लाग्ने नेताले जिल्लाको विकास गर्न सक्दैनन्, हाम्रो राष्ट्रिय राजनीतिमा सिधा पहुँच छ,’ उनले भने, ‘हामीलाई कसैलाई भेट्न कुर्नु पर्दैन, हामी सिधै बजेट दिने ठाउँमा पहुँच राख्छौँ, अनि मात्र कालिकोट र समग्र कर्णालीको मुहार फेरिन्छ।’
कालिकोट सामान्य जिल्ला नभएर राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्ने जिल्ला भएको उनले दाबी गरे। उनले २०६४ सालको संविधानसभाको प्रसङ्ग निकाल्दै जनताको संविधान बनाउन आफूले ठुलो सङ्घर्ष गरेको र त्यस बेला संविधानसभाको ‘हत्या’ गरिएको आरोप समेत लगाए।
माओवादी आन्दोलन र जनयुद्धका उपलब्धिलाई रक्षा गर्न आफूले पार्टीभित्र र बाहिर निरन्तर लडाइँ लडेको उनको भनाइ थियो। यो चुनाव विगतको भन्दा फरक रहेको भन्दै उनले भ्रष्ट र कमिसनखोरहरूलाई बहिष्कार गरी सच्चा राष्ट्रवादी र जनताको नेतालाई जिताउन अपिल गरे।