×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना

रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएपछि उनीहरुको जिम्मा जमानी लिएका वकिललाई जरिवाना तिराइएको छ ।

अदालतमा मुद्दा गएपछि सम्पर्क हुने सर्तमा छुटेका उनीहरु अहिलेसम्म सम्पर्कमा नआएपछि जिम्मा जमानी लिने दुई वकिललाई ५०–५० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले मिश्र र राणाका वकिललाई जरिवाना तिराइएको बताए । ‘हाजिरी जमानीमा लिएर बुझ्नेहरुले उहाँहरुलाई बुझाउन नसकेपछि दुवै जनाको वकिललाई ५०/५० हजार रुपैयाँका दरले जरिवाना तिराएका छौं’ एसपी बोहराले भने ।

मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार अनुसन्धान अधिकृतले जरिवाना तोक्ने सक्ने व्यवस्था उल्लेख छ । संहिताको दफा १५ मा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकृतले छाड्न सक्ने व्यवस्था उल्लेख छ ।

यसरी छाडिएका व्यक्तिलाई जसले बुझेको हुन्छ । पछि ती व्यक्तिलाई उपस्थित नराएको अवस्थामा बुझिलिने व्यक्तिलाई जरिवाना गर्न सकिने उल्लेख छ । दफा १५ को उपदफा (४) मा उल्लेख छ, ‘उपदफा (३) बमोजिम तोकेको समयमा त्यस्तो मानिसलाई उपस्थित नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।’

गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो । मिश्र हिरासतमा रहेपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले अनुसन्धान सकिएको भन्दै हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । त्यसपछि २ जेठमा प्रहरीले वकिलको जिम्मा लगाएर मिश्रलाई छाडेको थियो ।

प्रतिकृया दिनुहोस्