काभ्रेपलाञ्चोक । सम्भावित जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा १ साउनदेखि रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।
बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मंगलबार बेग्ला-बेग्लै विज्ञप्ति जारी गर्दै रातिको समयमा निजी तथा सार्वजनिक सवारी चलाउन रोक लगाएका हुन् ।
सूचना अनुसार १ साउनदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (रातिको समयमा) बीपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी चलाउन पाइने छैन ।
प्रायः हरेक दिन राजमार्ग अवरुद्ध हुन थालेपछि ७ असारदेखि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा गाडी चलाउन रोक लगाइएको थियो ।
सम्भावित जोखिम न्यूनीकरणका लागि गाडी रोकिने समय डेढ घण्टा लम्ब्याइएको सूचनामा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले १ साउनगतेबाट साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी चलाउन रोक लगाउने प्रस्ताव सिन्धुलीलाई गरे अनुसार मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि विज्ञप्ति निकालेर सहमति गरेको थियो ।
काभ्रेपलाञ्चोक सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकोले त्यस्ता विपद् जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाका लागि जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकको निर्णयानुसार बीपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग – भकुण्डेवेशी हुदै सिन्धुलीतर्फ जाने सवारी १ साउनदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म १ महिनाका लागि निषेध गरिएको जानकारी दिए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले काभ्रेपलाञ्चोक प्रशासनलाई सम्बोधन गर्दै प्रकाशित सूचनामा १ साउनदेखि १ महिना रातिको समयमा सवारी चलाउन रोक लगाइएको भनिएको छ ।
यसअघि काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको सिन्धुलीको खुर्कोटमा बसेको बैठकले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै ७ असारदेखि रातिको समयमा सवारी चलाउन रोक लगाइएको थियो ।