काठमाडौँ । गुगलले आज २० अगस्टको राति पिक्सेल १० स्मार्टफोन सिरिजका साथै नयाँ स्मार्टवाच र इयरबड्स सार्वजनिक गर्दैछ । 'मेड बाई गुगल' नामक कार्यक्रममार्फत यी नयाँ डिभाइसहरू बजारमा ल्याउन लागिएको हो ।
गुगलका आगामी उत्पादनहरूको बारेमा त्यति धेरै जानकारी बाहिर आइसकेको त छैन । यद्यपि कम्पनीले केही रोचक घोषणा समेत गर्न सक्ने सम्भावना छ ।
सबै नयाँ पिक्सेल फोनहरूमा अझ बढी ऊर्जा-किफायती टेन्सर फाइभजी प्रोसेसर आउने अपेक्षा गरिएको छ । यसले नयाँ जेमनाई एआई सुविधाहरूलाई पनि शक्ति दिन मद्दत गर्नेछ ।
बेस-लेभल पिक्सेल १० मा ठुलो क्यामेरा अपग्रेड आउनेछ, जसमा फाइभ एक्स (5x) टेलिफोटो लेन्स समावेश हुनेछ । यसभन्दा अघिल्लो जेनेरेसनमा अप्टिकल जुम पाउन प्रो वा फोल्ड मोडल खरिद गर्नु पर्ने हुन्थ्यो । क्यामेरा समग्रमा हाई-रेजोलुसनका हुनेछन् ।
नयाँ पिक्सेल फोनहरूमा क्यूआई २ (Qi2) म्याग्नेटिक चार्जिङ आउने अपेक्षा गरिएको छ । एप्पलको म्यागसेफ जस्तै नयाँ एक्सेसरिज इकोसिस्टम पिक्सेलस्न्याप (Pixelsnap) पनि देख्न सकिनेछ ।
त्यस्तै पिक्सेल वाच ४ मा ठुलो ब्याट्री र सानो बेजल हुने अपेक्षा गरिएको छ भने गुगलको बजेट इयरबड्स पिक्सेल बड्स २एमा पनि सुधारको सम्भावना छ ।
कसरी हेर्ने कार्यक्रमको प्रत्यक्ष प्रसारण ?
तपाईँ बुधबार नेपाली समयअनुसार साँझको १०:४५ बजेदेखि मेड बाई गुगलको आधिकारिक युट्युब च्यानलमा यो कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ ।
हुनेछन् सेलिब्रेटी पाहुना
यस पटक गुगलले कार्यक्रममा अनौठो सङ्ख्यामा सेलिब्रेटीहरूलाई आमन्त्रित गरेको छ । जिमी फ्यालोन, स्टिफन करी, ल्यान्डो नोरिस र जोनस ब्रदर्स सबै यो लाइभ स्ट्रिममा सामेल हुनेछन् ।