काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी)को अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै बिक्री वितरणको व्यवस्था मिलाएको छ । डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् ।
प्रवक्ता ठाकुरका अनुसार नेपाल ग्यासको वितरण सुरु भइसकेको छ भने एभरेस्ट र सुगम ग्यासको काउन्टर पनि तत्काल सञ्चालनमा आउँदैछ । उनले भने, ‘जसलाई ग्यास अत्यावश्यक छ र आफ्नो डिलरबाट पाउनुभएको छैन, उहाँहरूले खाली सिलिन्डर लिएर टेकु कार्यालयमा आई सहज रूपमा ग्यास लिन सक्नुहुन्छ ।’
बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको हल्ला चलिरहँदा प्रवक्ता ठाकुरले भने आयात र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरे। भन्सारको तथ्याङ्क अनुसार माग बमोजिम नै ग्यास आयात भइरहेको उनको भनाइ छ ।