×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

शिखर पावरको आइपिओमा परेन मागअनुसार आवेदन, फागुन ८ गतेसम्म म्याद थप

शिखर पावरको आइपिओमा परेन मागअनुसार आवेदन, फागुन ८ गतेसम्म म्याद थप

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)मा आवेदन दिने समयावधि थप गरेको छ । 

कम्पनीले मागअनुसार आवेदन नपुगेपछि आवेदन अवधि लम्ब्याएको हो । कम्पनीले माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो । 

यसअघि माघ २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर, तोकिएको अवधिभित्र पर्याप्त आवेदन नआएकाले अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

निर्धारित समयअगावै पर्याप्त आवेदन प्राप्त भएमा फागुन ८ गतेभन्दा अघि नै आईपीओ निष्कासन बन्द गरिने पनि कम्पनीले स्पष्ट पारेको छ ।

नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएअनुसार कम्पनीले कुल ३२ करोड रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । 

यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको हो ।

उक्त सेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरू तथा आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. २ (साविक बुर्तिवाङ गाविसका वडा नं. २, ३, ४ र ५) का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

यस्तै, बाँकी २२ करोड २० लाख रुपैयाँ बराबरको २२ लाख २० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिएको थियो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

उनीहरूले ग्लोबल आइएमई बैंक नक्साल, बुर्तिवाङ र बागलुङ बजार शाखा, प्रभु बैंक ग्वालीचौर शाखा, गरिमा विकास बैंक बुर्तिवाङ शाखा तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखामार्फत आवेदन दिन सक्नेछन् । 

कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आइपिओ जारी गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्