×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

बजारमै नआएको ‘आईफोन १७ प्रो म्याक्स’ फेसबुकमा रु. ९८ हजारमा बिक्रीमा राख्दै नेपाली स्क्यामर

बजारमै नआएको ‘आईफोन १७ प्रो म्याक्स’ फेसबुकमा रु. ९८ हजारमा बिक्रीमा राख्दै नेपाली स्क्यामर

काठमाडौँ । एप्पलले आईफोन १७ सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सामाजिक सञ्जाल फेसबुकको मार्केटप्लेसमा भने ‘आईफोन १७ प्रो म्याक्स’ ९८ हजार रुपैयाँमा बिक्रीमा राखेको पाइएको छ । ‘राज थापा’ नामक फेसबुक प्रयोगकर्ताले बजारमै नआएको फोन आकर्षक मूल्यमा बेच्न राखेपछि यो अनलाइन ठगीको नयाँ प्रयास हुन सक्ने आशंका गरिएको हो ।

विज्ञापनमा प्रयोग भएको फोटोमा आईफोन १७ हातमा लिएको देखाइएको छ । रिभर्स इमेज सर्च गर्दा यो फोटो १८ जुन २०२५ मा टेकड्रोइड नामक फेसबुक पेजमा ‘आईफोन १७ प्रो म्याक्स (कन्सेप्ट) क्याप्सन राख्दै पोस्ट गरेको भेटियो । हेर्नुहोस् पोस्ट । 

थापाले बिक्रीमा राखेको आईफोन १७ प्रो म्याक्समा ५१२ जीबी स्टोरेज, ९७ प्रतिशत ब्याट्री हेल्थ र सेतो रङको भन्दै फोनको विस्तृत विवरण दिइएको छ । बिक्रेताले फेस आईडीले काम गर्ने, फोनमा कुनै समस्या नभएको र सात दिनको ‘चेकिङ वारेन्टी’ समेत दिने विश्वास दिलाउन खोजेका छन् । उक्त फोन जनकपुरबाट बिक्रीका लागि राखिएको हो । ‘

फोन बिक्रीमा राख्ने ‘राज थापा’ को फेसबुक अकाउन्ट सन् २०२५ मा मात्रै खोलिएको देखिन्छ । प्रोफाइलमा आफू जापानको क्योटोमा बस्ने उल्लेख गरे पनि सामानको स्थान भने जनकपुर राखिएको छ ।

थापाको प्रोफाइलमा आईफोन १७ मात्र होइन, ‘आईफोन १६ प्रो म्याक्स’ ५५ हजारमा र ‘आईफोन १५ प्रो’ ७५ हजार रुपैयाँमा बिक्रीमा राखिएको छ । रोचक त के छ भने, यी महँगा फोनसँगै दुई ओटा कुर्ता पनि बिक्रीमा छन् । तीमध्ये एउटाको लोकेसन पनि जनकपुर नै देखाइएको छ । अर्कोको भने नेपालगञ्ज छ ।

नेपाल प्रहरीका अनुसार फेसबुक मार्केटप्लेस लगायतका अनलाइन प्लेटफर्ममा यस्ता आकर्षक विज्ञापन देखाएर ठगी गर्ने प्रवृत्ति बढेको छ । ठगहरूले सस्तो मूल्यमा सामान राख्ने, ‘अर्डर धेरै आएकोले छिटो पैसा पठाउनुस्’ भन्दै अभाव सिर्जना गर्ने र अग्रिम भुक्तानी लिएपछि सम्पर्कविहीन हुने गरेको पाइएको छ । यस्ता घटनामा लाखौं रकम गुमाएपछि पीडित प्रहरीको साइबर ब्युरो र अन्य प्रहरी कार्यालयमा पुग्ने गरेका छन् ।

यदि आईफोन १७ प्रो म्याक्स मात्र बिक्रीमा राखिएको भए यसलाई कसैले रमाइलोका लागि गरेको भन्न सकिन्थ्यो । तर, अन्य फोन र सामान पनि अस्वाभाविक रूपमा सस्तो मूल्यमा राख्नुले यो ठगीकै मनसायले गरिएको हुन सक्ने प्रबल सम्भावना देखिन्छ । सामाजिक सञ्जाल रेडिटमा पनि यस विषयमा चर्चा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्