काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले जनताकै सल्लाह सुझाव र प्रस्तावमा चुनावमा भाग लिएको बताउदै परिवर्तनको मत गुलाफमा दिएर सेवा गर्ने अवसर दिन आम जनता समक्ष अपिल गरेका छन्। बुधबार दाङको तुल्सीपुरमा नेकपा (माओवादी) ३ नम्बर निर्वाचन क्षेत्रको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन्।
महासचिव विप्लव सीले एकपटक संसदबाट देशको सेवा गर्ने अवसर दिन पश्चिम दाङका आम जनसमुदायलाई अपिल गर्दै भने – ‘जनताकै सल्लाह सुझाव र प्रस्तावमा हामी चुनावमा आएका हौँ। ६४ को निर्वाचनपछि पहिलोपटक चुनावमा आएका छौं । सडकबाट देश र जनताको पक्षमा निरन्तर सङ्घर्षरत छौँ। तपाईँहरुले नै एकपटक चुनावबाट लड्नुस् भनेपछि नै पार्टी चुनावमा गएको हो । यसपटक तपाईँको परिवर्तनको मत गुलाफमा दिएर सेवा गर्ने अवसर दिनुहोस्।’
महासचिव विप्लव सीले रवि-बालेन नयाँ नभएको जिकिर गर्दै राजनीतिक प्रस्ताव र एजेन्डा पुरानो भएको र रूप मात्रै नयाँ भएको बताए । उनले भने – ‘संविधान व्यवस्था यही ठिक हो अवस्था बदल्नुपर्छ भन्ने रवि बालेन नयाँ होइनन् । संविधान र व्यवस्था नबदल्नु जेन्जी विद्रोहको मुद्दा सम्बोधन नगर्नु हो । जिन्जी पुस्ताले उठाएको राजनीतिक प्रस्ताव र भ्रष्टाचार विरोधी विद्रोहलाई हामीले समर्थन गरेका छौं। यो चुनाव सामान्य चुनाव होइन, यसले जेन्जीको मागलाई सम्बोधन गर्नुपर्छ । जेन्जीका मुद्दा र एजेन्डा लाई सम्बोधन गर्ने गरी हामीले चुनावी प्रस्तावहरू अघि बढाएका छौं । संविधानको संशोधन, पुनर्लेखन, राज्यको पुनर्संरचना, अग्राधिकारसहितको समाजवादी संघीय शासन प्रणाली लगायतका विषयहरू हामीले समेटेका छौं। हामीसँग नयाँ राजनीतिक प्रस्तावहरू छन्, त्यसकारण नयाँ हामी हौं ।’
यसैगरी, महासचिव विप्लव सीले नवलपरासीमा रवि-बालेनका कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवार , कार्यकर्ताहरू माथि गरेको आक्रमणको घोर निन्दा गर्दै भने- ‘घन्टीका अराजक गुण्डाहरूले हाम्रो पार्टीका उम्मेदवार, चुनावी सभामा ढुङ्गामुढा गरेको सूचना पाएका छौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को म महासचिव हुँ, रविजी रासोपाको अध्यक्ष हो, माओवादीमाथिको आक्रमणको मूल्य रविजीले महँगो चुकाउनु पर्नेछ।’
उक्त चुनावी सभालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले जेन्जी आन्दोलनले अपदस्त गरेका संसदवादी दलहरूलाई जनताले भोट नदिने ठोकुवा गर्दै भने- ‘केपी, प्रचण्ड र देउवाले भोट पाउने स्थिति छैन । भ्रष्टाचार गरेको पैसा दिनभरि जलिनसक्ने संसदवादी पार्टीलाई जनताले भोट दिने छैनन् ,’ उनले भने, ‘अहिले समाजमा नयाँको बहस चलिरहेको छ, त्यसमा नयाँ भनेको हामी हौँ,नेकपा (माओवादी) । यो केवल सामान्य चुनाव होइन, राष्ट्रको रक्षाको महत्त्वपूर्ण पहलकदमी हो।’
उक्त चुनावी सभा कार्यक्रममा नेकपा (माओवादी)का दाङ -३ का समानुपातिक उम्मेदवार कान्छी चौधरी (जीवनी), पार्टीका पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सी (विषम), पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सबिन सी लगायतले सम्बोधन गरेका थिए ।
नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा तुलसीपुर नगर कमिटीका इन्चार्ज प्रदिप सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला सचिव तिलक सीले गरेका थिए । कार्यक्रममा सामना सांस्कृतिक परिवार तुलसीपुरले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो।