काठमाडौँ । नेपाल टेलिकमले अलर्ट आईडी प्रयोग गरी ग्राहकको बैंक खाताबाट पैसा चोरी भइरहेको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ । एक विज्ञप्ति जारी गर्दै टेलिकमले शंकास्पद लिंकसहितको एसएमएस आएमा त्यसलाई नखोल्न आग्रह गरेको हो ।
पछिल्लो समय टेलिकमका केही ग्राहकको मोबाइलमा विभिन्न अलर्ट आईडीबाट अङ्ग्रेजीमा 'Dear valued customer, your Connect IPS account has been locked. Please verify to login and secure it' (प्रिय ग्राहक, तपाईंको कनेक्ट आईपीएस खाता बन्द गरिएको छ । कृपया लगइन गरेर आफ्नो खाता सुरक्षित गर्नुहोस्) भन्ने व्यहोराको मेसेज आएको पाइएको छ ।
उक्त मेसेजमा दिइएको लिंक खोलेर कनेक्ट आईपीएसको युजरनेम र पासवर्ड हाल्न लगाइन्छ । प्रयोगकर्ताले आफ्नो गोप्य विवरण हाल्ने बित्तिकै ठगहरूले बैंक खातामा पहुँच बनाएर रकम चोर्ने गरेको टेलिकमले जनाएको छ ।
टेलिकमले ठगीका लागि प्रयोग भइरहेका केही शंकास्पद लिंकहरू पनि सार्वजनिक गर्दै यस्ता अपरिचित र शंकास्पद लिंकहरूबाट आएका म्यासेजलाई बेवास्ता गर्न सुझाएको छ ।
कम्पनीले आफ्ना सेवाबारे जानकारी लिनका लागि आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा रहेको नीलो टिक (ब्लु टिक) सहितको आधिकारिक पेज मात्र हेर्न पनि अनुरोध गरेको छ ।