अर्घाखाँची, शीतगंगा ११ मान्द्रेमा नेपाल कम्युनिष्ट पार्टी द्वारा सञ्चालित जनकम्युन कृषि एक नयाँ युगमा प्रवेश गरेको छ। एक हप्तासम्म कम्युनमा श्रम गरिरहेका महासचिव विप्लव सीले अब आत्मनिर्भरताको लक्ष्यलाई व्यावसायिक उत्पादनमा विस्तार गर्ने महत्त्वपूर्ण घोषणा गरेका छन्।
हामीले यो व्यावसायिक रूपमा यात्रा आलुबाट सुरु गरेका थियौं, विप्लव सीले आलु भन्दा पहिला हामी ले अरु उत्पादन गरेका थियो तर त्यो केवल आफ्नो आवश्यकता पूरा गर्नका लागि थियो। अब यो वर्षदेखि हामीले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी व्यावसायिक उत्पादन थालेका छौं। उनले यस वर्ष मात्रै २०० टन आलु उत्पादन गरेर कम्युनले एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जानकारी दिए। यसका साथै, यस वर्ष अगबरे खुर्सानी पनि बजारमा ल्याउने तयारी भइरहेको उनले बताए।
कम्युनमा सक्रिय रूपमा सहभागी रहेका केन्द्रीय सदस्य तथा महासचिव विप्लव सीका सचिव अडिग सीले सामूहिक श्रमको महत्त्वलाई जोड दिए।, उनले भने, मैले श्रमलाई नै जीवन ठानेको छु र श्रमबिना कुनै विकल्प छैन। यो श्रम संगैको विचारले मलाई सधैँ उत्साहित बनाएको छ।
पार्टीका पीबीएम सदस्य भेषराज सीले व्यावसायिक उत्पादनको दूरगामी महत्त्वबारे प्रकाश पारे। हाम्रो जोड पार्टीभित्रको सामूहिक जीवन र त्यो भित्र सदस्यहरूको निजी जीवनलाई व्यावसायिक उत्पादनमार्फत कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा छ, उनले भने, त्यसै अनुरूप हामीले यो व्यावसायिक उत्पादनको थालनी गरेका हौं।
केन्द्रीय सदस्य प्रयास सीले जनकम्युनको यो प्रयासलाई भविष्यको समाजवादको आधारशिलाको रूपमा व्याख्या गरे। हामीले भोलिको समाजवाद स्थापना भएपछि हाम्रो देश कस्तो हुन्छ भन्ने कुरा अहिलेदेखि नै निर्माण गर्दैछौं, उनले भने।
हाल १६ जनाको टोली ७ रोपनी क्षेत्रफलमा सक्रिय रूपमा कृषि कार्यमा संलग्न छ भने ११ रोपनी जग्गामा थप उत्पादनको तयारी भइरहेको छ। जनकम्युन कृषिमा सहभागी सबै सदस्यहरू सामूहिक श्रम, लगनशीलता र व्यावसायिक दृष्टिकोणका साथ आत्मनिर्भर र समृद्ध भविष्य निर्माणतर्फ अग्रसर छन्। महासचिव विप्लव सीको यो घोषणाले जनकम्युनका सदस्यहरूमा थप उत्साह र ऊर्जा थपेको छ।