काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गरेकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद तामाङले सरकारले बजेट विनियोजन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई मात्र प्राथमिकता दिने गरेको आरोप लगाइन्। उनले कर्णाली क्षेत्रका सडक र भौतिक पूर्वाधारका लागि पर्याप्त स्रोत नछुट्याइएको भन्दै आपत्ति जनाइन्।
सांसद तामाङले भनिन्, ‘सरकारले कर्णालीका सडकमा बजेट र साधन स्रोत उपलब्ध गराउँदैन। बजेट विनियोजन गर्दा झापालाई मात्र नेपाल ठान्छ। तर कर्णाली भनेको पनि नेपालकै भूगोल हो, यसको विकास नगरी समृद्ध नेपाल सम्भव हुँदैन।’
उनले प्रधानमन्त्री ओलीले कर्णाली विकासबारे अधुरा तथ्यका आधारमा धारणा बनाएको भन्दै आलोचना गरिन्। साथै, प्रधानमन्त्रीले संसद बैठकमा नियमित उपस्थिति जनाउनुपर्ने व्यवस्था मिलाउनुपर्ने माग पनि राखिन्।