काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले जनतासँग मिलेर उत्पादन गरी देशलाई समृद्धिको दिशामा लैजाने बताएका छन् । पाल्पाको रिम्दीकोट गाउँपालिकाद्वारा नेकपाको जनकम्युनलाई अकबरे खुर्सानीको बेर्ना हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले रिम्दीकोट गाउँपालिकाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने- “आजको कार्यक्रम महत्त्वपूर्ण छ किनभने पाल्पाको रिम्दीकोट गाउँपालिकाबाट यसरी सहयोग प्राप्त हुँदा म गाउँपालिकालाई धन्यवाद दिन चाहन्छु। हाम्रो उद्देश्य आफ्नै देशलाई आत्मनिर्भर र समृद्ध बनाउनु हो। हामी सिद्धान्तलाई व्यवहारमा जोड्दै अघि बढिरहेका छौं।”
यसैगरी, महासचिव विप्लव सीले जनकम्युनले गत वर्ष २ लाख किलो आलु उत्पादन गरेको अनुभव पनि सुनाउदै भने- “हाम्रो कम्युनमा ७० वर्षका वृद्धदेखि १७ वर्षका युवासम्म सहभागी छन्। पार्टीको काम भनेको केवल गफ गर्ने र भाषण गर्ने मात्र होइन, जनतालाई रचनात्मक सिर्जना सिकाउने काम पनि हो। हामी जनतासँग मिलेर उत्पादन गरी देशलाई समृद्धिको दिशामा लैजानेछौं।”
नेकपाको जनकम्युनलाई अकबरे खुर्सानीको बेर्ना हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष अध्यक्ष नारायण बहादुर कार्कीले कम्युनको प्रशंसा गरेका थिए । अध्यक्ष कार्कीले नेकपाको केन्द्रीय जनकम्युनमा पुगेर अकबरे खुर्सानीको बेर्ना हस्तान्तरण गरेका हुन्।
रिम्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र गाउँपालिकाका प्रशासकीय सचिव मणि खनाल शीतगंगा नगरपालिका वडा नम्बर ११ मा रहेको जनकम्युनमा पुगेका थिए। त्यहाँ उनीहरूले करिब ५ बिघा क्षेत्रफलमा अकबरे खुर्सानी लगाउने तयारी गरिरहेको जनकम्युनलाई सहयोगस्वरुप बेर्ना प्रदान गरेका हुन्। हाल २ बिघा क्षेत्रफलमा खुर्सानी लगाइसक्नु भएको छ ।
करिव १०हजार बेर्ना हस्तान्तरण कार्यक्रममा बोल्दै रिम्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले भने, “हाम्रो गाउँपालिकामा पनि अकबरे खुर्सानी लगाएका छौं। किसानहरूले पनि यसलाई अँगाल्दा म धेरै खुसी छु। आज म विशेष खुसी छु किनभने नेकपाले जनकम्युन स्थापना गरेर जसरी काम गरिरहेको छ, त्यो देख्दा हामी उत्साहित छौं। हामी पनि हाम्रो गाउँपालिकामा यस्तै अवधारणा लागू गर्नेछौं।”
उनले थप भने- “हाम्रो गाउँपालिकाले गत वर्ष २३ करोड रुपैयाँ बराबरको अकबरे खुर्सानी निर्यात गरेको थियो र यस वर्ष ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अबको ५ वर्षमा हाम्रो गाउँपालिकाले १ अर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य राखेको छ।” उक्त कार्यक्रमको संचालन नेकपाका पोलिटब्यूरो सदस्य भेष राज सी गरेका थिए ।